हाम्रो बारेमा

पृष्ठभूमि
ज्ञानमा आधारित आधुनिक अर्थतन्त्रको निर्माण गर्दै दिगो विकास गर्न विज्ञान प्रविधि महत्वपूर्ण हुन आउँछ । खासगरी परमाणु प्रविधि, अन्तरिक्ष विज्ञान, जैविक प्रविधि, अतिसूक्ष्म प्रविधि र अन्य नवीनतम खोजका  क्षेत्रलगायतका विधामा सुरु भएका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै तिनको प्रयोगबाट द्रुततर आर्थिक विकासमा लाग्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।
नेपालको संविधानमा वैज्ञानिक अध्ययन, अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने नीतिगत व्यवस्था भएको छ । यस क्षेत्रमा देखिएका नीतिगत तथा कानुनी अस्पष्टता र समन्वयको कमीलाई हटाउने र अनुसन्धानका उपलब्धिहरूलाई जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित गर्दै मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधनको अत्युत्तम उपयोगमा जोड दिनुपर्ने आवश्यकता छ । विज्ञान र प्रविधिको अन्वेषण एवम् विकासको लागि लगानी वृद्धि गर्नु आवश्यक छ । विज्ञानका उपलब्धिलाई आर्थिक वृद्धि, सामाजिक सेवाको विस्तार र गरिबी निवारणमा सहयोग  पुर्याउने कार्यक्रममा प्रयोग गर्नु तथा देशभित्र उपलब्ध प्रतिभाहरूको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निमार्ण गर्नु प्राथमिक दायित्व हुन आउँछ ।

चुनौती
विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा देशको लगानी बढाउनु, मुलुकमा रहेका अनुसन्धान निकायहरूलाई एउटै छाता नीतिअन्तर्गत ल्याउनु, युवा वैज्ञानिक तथा प्रतिभाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण तयार पार्नु, प्राकृतिक स्रोतको दिगो र अत्यूत्तम उपयोग र गरिबी निवारणमा सहयोग पुर्याउनु, देशभित्र विज्ञान तथा प्रविधि शिक्षाप्रतिको आकर्षण बढाउनु, आफूखुसी प्रयोग भइरहेका रेडियोधर्मी पदार्थहरूको भावकारी नियमन गर्नुजस्ता चुनौती रहेका छन् ।

अवसर
विज्ञान र प्रविधिको क्षेत्रमा सामयिक सुधार गर्ने वातावरण निर्माण हुनु, देशबाहिर छरिएर रहेका हजारौँ प्रतिभाहरूलाई देशभित्र फर्काउन सक्ने सम्भावना कायम रहनु, देशभित्र अध्ययन तथा खोज अनुसन्धानका लागि प्रशस्त अवसरहरू विद्यमान रहनु, खोज अनुसन्धानका लागि जागरूक युवा समूहको सङ्ख्या बढ्दै जानु, आधुनिकीकरणसँगै अन्तर्राष्ट्रिय सहयोग र समन्वयको क्षेत्र फराकिलो हुनुजस्ता अवसरहरू रहेका छन् ।